काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत परेको बताएका छन् ।
आइतबार अर्थ समितिमा भएको छलफलमा गभर्नर अधिकारीले प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि यो विषयमा प्रहरीले लामो समयदेखि अनुसन्धान गरेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको बताए ।
उनले भने, ‘बैंकिङ कसुरजन्यकार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ । प्रहरीले एउटा सहकारीको अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धान गर्दा सहकारीको लहरोले बैंकका कर्मचारीसम्म पुगेको छ ।’
सीआईबीले देउराली बहुउद्देश्यीय सहकारीको अनुसन्धान गर्दा बैंकसम्म परेको भन्दै उक्त विषयमा राष्ट्र बैंकले प्रहरीसँग समन्वय गरेको उनले जानकारी गराए ।
अधिकारीले पछिल्लो समय बैंकका कर्मचारीहरुमाथि विभिन समूह र क्षेत्रबाट आक्रमण र धरपकड भइरहेको भन्दै यसले बैंकिङ प्रणालीमा समस्या निम्त्याउने बताएका छन् ।
दुर्गा प्रसाईंको अराजकतालाई नरोक्ने हो भने बैंकहरुले सोचअनुसार कर्जाको माग र प्रवाह नहुने उनको भनाइ छ । लामो समयदेखि दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने अभियान चलाइरहँदा बैंकिङ प्रणालीमा समस्या निम्तन सक्ने बताए ।
अधिकारीले आगामी दिनमा कसैलाई पनि आतंकित नबन्न आग्रह गरे । यस्तै उनले सरकारी निकायले गरेको अनुसन्धानमा राष्ट्र बैंकले सहयोग गर्ने बताए । अहिले सबै बैंकहरु सुरक्षित रहेको, जनताको पैसा सुरक्षित रहेको उनको भनाइ छ ।