काठमाडौं, २० फागुन । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामि फागुन २५ गते भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना हुने भएको छ । महाशिवरात्रिको पावन अवसरमा केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा उक्त आयोजना हुने भएको हो ।
उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम हुने छ । धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम रहेको हुँदा उक्त कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।
कम्पनीले जारी पुँजी रु. २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम रु. ३० करोड ६० लाख बराबरको रु. १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता शेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्ने कम्पनीका सचिवले बताए । यस्तै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको बताए ।
सो परियोजनाको निर्माण कार्य ९० % सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए ।