काठमाडौं, २२ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ ।
सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबल पहिलो चरणको खेल २३ चैत देखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुने जनाएको छ ।
एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए ।
सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए ।
यस बारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने राईले जानकारी दिए ।
एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रुपमा रहनेछन् ।
एन्फाले सहभागी टोलीलाई आवश्यक तयारी र टिम छनोटका लागि नगद एक लाख प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कर्णाली खेलकुद विकास समितिबाट पनि आर्थिक सहयोग माग्ने निर्णय गरेको छ । कर्णाली खेलकुद विकास परिषद्ले प्रतियोगिताको लागि समन्वय गर्ने एन्फाले जनाएको छ ।