सुनिता सुबेदी
काठमाडौं, २२ फागुन । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए । यो सँगै बराल अहिले विवादित भएका छन् ।
कुनै अध्ययन विना नै उनले गरेको उक्त घोषणामा सरोकारवाला तथा विज्ञहरुको फरक मत देखिन्छ । बरालको उक्त भनाई कतै सकारात्मक रुपमा लिइएको छ भने कतै विरोधमा छन् ।
शिक्षाविद् विष्णु कार्कीले बरालको उक्त निर्णय गलत रहेको बताए । तीनवर्षे बनाउने अथवा चार वर्षमै यथावत राख्ने निर्णय त्रिविको नभई विश्वविद्यालय अनुदान आयोग (युजिसी)को रहेको कार्कीले बताए । उनले भने, यो निर्णय त्रिविले गर्ने होइन युजिसी छ नि, युजिसीले के गर्ने त ? युजिसीको हविगत त्यस्तै छ । राजनीति बाहिरका मान्छे छैनन् ।’
कुन संकायलाई तीनवर्षे र कुन लाई चारवर्ष मै राख्नुपर्ने भन्ने जस्ता निर्णयलाई आयोग जस्तो निकायलाई अघि सार्नुपर्ने उनले बताए । त्रिविको मात्र चार वर्षमा रहेको प्रणालीलाई तीनवर्षमा बनाउने निर्णयले देशभरका विश्वविद्यालय, स्नातक तहका विद्यार्थी प्रभावित हुने उनको भनाई छ ।
कार्कीले स्नातक तहलाई चारवर्ष बाट तीनवर्षमा ल्याउँदैमा शिक्षामा गुणस्तर नहुने बताए । उनले भने, ‘हिजो एकथरीले चार वर्षमा पु¥याए, आज अर्काेले तीनवर्षे बनाउने । भोली अर्काेले दुईवर्ष बनाउला । तीनवर्षमा ल्याउदैमा शिक्षामा प्रभावकारिता देखिदैन ।
हाल देशभर १७ वटा विश्वविद्यालय छन् । यी विश्वविद्यालयमा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा चारवर्षे प्रणाली नै लागू छ । तीनवर्षमा झार्नुभन्दा नचलेका संकाय, विषयगत कोर्षहरुलाई हटाउनुपर्ने कार्कीको भनाई छ । यस्तै उनले विश्वबजारमा चलेको विषयगत पढाइलाई अघि नबढाए बाँकी रहेका विद्यार्थी समेत नटिक्ने औँल्याए ।
स्नातक पढ्दा लाग्ने लागत, समयको कम खर्च यसका फाइदा भए पनि अर्काे पाटोमा यसका धेरै बेफाइदा रहेको कार्कीले बताए । मुलुकका अन्य विश्वविद्यालय, विदेशका विश्वविद्यालयहरुमा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा चारवर्षे प्रणाली नै लागू छ ।
त्रिविका विद्यार्थी मुलुकका अन्य विश्वविद्यालय अथवा विदेशमा उच्च शिक्षा पढ्न जाँदा पुनः एकवर्ष स्नातक तह नै पढ्नुपर्ने भएपछि २०७२ सालमा शिक्षा शास्त्र तीन वर्षेलाई चार वर्षे बनाइएको थियो । यस्तै २०७३ सालमा ब्यवस्थापन संकायलाई चारवर्षे र मानविकीलाई २०७४ सालमा चारवर्षे बनाइएको थियो । तीनवर्षलाई चारवर्षमा परिवर्तन गरेको चार–पाँच वर्ष पनि पुरा नभई अहिले पुनः तिन वर्षमै झार्ने बहस छ ।
त्रिविले मात्र उक्त निर्णय गर्दा विद्यार्थीहरुको शैशिक प्रमाणपत्रमै फरकधार देखिने कार्की बताउँछन् । भविष्यमा विद्यार्थीको शैक्षिक प्रमाणपत्र नै विदेशका विश्वविद्यालमा विक्न नसक्ने उनले बताए ।
चारवर्षेमा रहेको शैक्षिक प्रणालीलाई तिन वर्षमा ल्याउँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । सर्बप्रथम त मुलुक र अन्य दशका विश्वविद्यालयमा एकरुपता हुनुपर्ने कार्कीले बताए । यस्तै विश्वविद्यालयका पाठ्यक्रम परिवर्तन गर्दा विश्वबजार अनुसारको हुनुपर्ने, आफ्नो देशको आवाश्यता अनुसार शैक्षिक जनशक्ति उत्पादन गनृुपर्ने, मुलुकका सबै विश्वविद्यालय एउटै मापडण्डमा चल्नुपर्ने उनलेबताए ।
त्रिभुवन विश्व विद्यालयको प्रारम्भमा स्नातक तह दुई वर्षे थियो । सो अवधिमा प्राविधिक क्षेत्र मेडिकल तथा इन्जिनियरिङ र कृषि एवम् वनका विषयहरुमा भने शिक्षा, ब्यवस्थापन र मानविकि भन्दा एक वर्ष बढि अवधि लाग्दथ्यो । वि.सं.२०५६ देखि एक वर्ष बढाएर दुई वर्षेलाई तिन वर्षे र तिन वर्षेलाई चार अनि पाँच वर्षे सम्मको स्नातक लागू गरिएको थियो ।