काठमाडौं, २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री निवास छाडेका छन् । नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै अघिल्लो अघिल्लो सत्ता गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जिम्मेवारी पाएका किराँतीले मन्त्री निवास छाडेका हुन् ।
मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।
४ सय १३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले अवसर प्रदान गर्ने प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।
आफू र आफ्नो टिमले सकेको कोशिस गरेको भन्दै उनले भनेका छन्, ‘हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’
मन्त्री पदमा बस्दा बुबाको मृत्यु भएको सन्दर्भ निकाल्दै उनले भनेका छन्, ‘मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखें र राजनीतिक मृत्युलाई मैले छल्न सकें तर प्राण लिने मृत्युलाई बुबाले छल्न सक्नु भएन ।’