काठमाडौं, २३फागुन । कास्कीमा स्वरुप फेरिएका मोटरसाइकल चलाउन निषेध गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै स्वरुप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने बताएको छ ।
जारी गरिएको सूचनामा भनिएको छ, ‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ ।’
अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।
प्रहरीले हालसम्म ६ सय ८१ वटा स्वरुप फेरेर चर्को ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिइसकेको जनाएको छ । यस्तै वास्तविक स्वरुपमा परिवर्तनसँगै होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का निकाल्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।