काठमाडौं, २३ फागुन । नेपाल बिमक संघले सरकारबाट बाँकी अनुदान रकम प्राप्त नभएसम्म कृषिसम्बन्धी बिमा लेख जारी नगर्ने निर्णय गरेकोे छ ।
बुधबार बिमक संघले एक विज्ञप्ती जारी गर्दै चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बिमा लेखको बिमा शुल्क पूरा भुक्तानी नभएसम्म बिमा लेख जारी नगर्ने जनाएको छ । सरकारले कृषि बिमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि निर्जीवन बिमा कम्पनीहरूले कृषि सम्बन्धी बिमा लेख रोक्न लागेका हुन् ।
बिमक संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चैत्र १ गतेदेखि कृषिसँग सम्बन्धित बिमा लेखको पनि बिमा शुल्क पुरा भुक्तानी नभएसम्म बिमा लेख जारी नहुने सर्वसाधारण तथा सरोकारवाला निकायलाई जानकारी गराउँदछौ ।’
सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बिमा लेख जारी गर्ने, क्षती हुँदा क्षतीको दाबी भुक्तानी गर्ने गरेका छन् । तर, सरकारले तोकेको अनुदान १ वर्षपश्चात् प्राप्त हुने गरेको बिमक संघले जनाएको छ ।