काठमाडौं, २८ फागुन । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र उक्त क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् ।
आइतबार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडलाई पत्र पठाउँदै ७ दिनभित्र सरोकारवालाहरुसँग छलफल गरी कार्ययोजना पेस गर्न भनेको छ ।
अर्थ मन्त्रालयबाट तीनवटै निकायलाई पठाइएको पत्रमा भनिएको छ, ‘अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकावाला समेतको राय लिई ७ दिनभित्र कार्ययोजना पेश गर्न मन्त्री ज्यूको निर्देशनअनुसार अनुरोध छ ।’