काठमान्डौं, २८ फागुन । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि ७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा बीमा कम्पनीका पुर्व सीईओ देखि डेपुटी सीईओहरु रहेका छन् ।
कम्पनीले फागुन ७ गते आवेदन माग गर्दै सूचना जारी गरेको थियो । आवेदन दिने अन्तिम दिन फागुन २७ ७ जनाले आवेदन दिएको कम्पनीले जनाएको छ ।
आवेदन दिनेमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, शेखर बराल, उज्ज्वलराज अर्याल, श्रीमान कार्की, सुरेन्द्र थापा र बुद्धकाजी श्रेष्ठ रहेका छन् । भण्डारी हाल सो कम्पनीका डेपुटी सीईओ तथा निमित्त सीईओ हुन् । यस्तै भट्टराई साबिक गुँरास लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन भने बराल राष्ट्रिय बीमा कम्पनीका पूर्वसीईओ हुन् । यस्तै, अर्याल नेपाल पुनर्बीमा कम्पनीका पूर्वकर्मचारी हुन् भने कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन् ।
यसैगरी, थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् भने श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्व सञ्चालक हुन् ।