काठमाडौं, २८ फागुन । चालू आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा करिब २ खर्ब कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ९ प्रतिशत विन्दुले बढेको हो । गत आवको सोही अवधिमा यस्तो कर्जा रु.१ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ प्रवाह भएको थियो । यस्तै वार्षिक बिन्दुगत आधारमा माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।
यस्तै माघसम्ममा सबै भन्दा धेरै कर्जा प्रवाह घर जग्गा धितो सुरक्षणमा भएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये घर जग्गा धितो सुरक्षणमा मात्रै ६७ दशमलव ३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको माघसम्म्मा पनि यस्तो कर्जा प्रवाह ६७ दशमलव ३ प्रतिशत नै थियो । यस्तै चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको कर्जा प्रवाहमा भने एक वर्षको अवधिमा शून्य दशमलव ६ प्रतिशत विन्दुले घटेको छ । चालू आवको माघसम्ममा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा ११ दशमलव ६ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह १२ दशमलव २ प्रतिशत थियो ।
चालू आवको माघसम्ममाा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव २ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो ।
सात महिनासम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ दशमलव २ प्रतिशतले, विकास बैंकहरुको ३ दशमलव ४ र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३ प्रतिशतले बढेको छ ।
माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ० दशमलव ८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ यस्तै ८ प्रतिशतले बढेको छ । यस्तै निर्माण क्षेत्रतर्फको कर्जा ४ दशमव ९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ ।