काठमाडौं, २८ फागुन । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । सोमबार महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरका छन् । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।
आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको उक्त क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।
पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए । उनले भने, ‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकासे पुल बनाउने निधो गरेका हौं । अन्यत्रको आकासे पुल सवलाङ्गका लागि समेत असहज भएकाले लिफ्टसहितको निर्माण गर्न लागेका हौं । बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई यो पुल सहज हुनेछ ।’
ललितपुर महानगरपालिका–१३ मा यो पुल एक वर्षभित्र निर्माण गरिसक्नुपर्छ । आयोजना प्रमुख तथा इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट अनुमति प्राप्त उक्त आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँ लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।