काठमाडौं, २८ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा थप सहायता बढाउन आग्रह गरेका छन् । सोमबार विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेका हुन् ।
सरकारको खर्च बढाउने, रोजगारी सृजना र आर्थिक गतिविधिमा तीव्रता दिएर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्त्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए । उनले भने, ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ । यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु।’
यस्तै उनले आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पुँजीगत खर्च बढाउने गरी काम गर्ने विश्वास व्यक्त गरे । विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्त्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने पुनले बताए ।
भेटमा डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए । उनले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिए । आईडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान दिँदै आएको छ ।