काठमाडौं, २८ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी, व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । सोमबार वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैया हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए।
यस्तै उनले राजनीतिक दलहरुको आर्थिक बिषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने बार्षिक साधारणसभामा सबै दलको ऐक्यबद्धता खोजिने जानकारी दिए । महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोसेढुंगा भएको उनको भनाइ छ ।