काठमाडौं, १ चैत । पछिल्लो समय बैंकिङ कारोबार बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको छ, जसअनुसार नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढीमा मोबाइल बैंकिङ पुगिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनामा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३५ लाख ६ हजार २८ पुगेको छ । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ८० दशमलव ५९ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यद्यपी कुनै एक प्रयोगकर्ताले एक भन्दा बढी बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने हुनाले प्रयोगकर्ताहरु धेरे देखिएका हुन् ।
यस्तै एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता १७ दशमलव २१ प्रतिशतले बढेको छ । गत आवको माघसम्ममा २ करोड ३६ हजार ५ सय २४ मात्र मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।
चालू आवको माघसम्ममा १८ लाख ३५ हजार ८ सय ४९ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ । यो सङ्ख्या गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ०२ प्रतिशतले बढेको हो । गत आवको माघसम्ममा १७ लाख ६४ हजार ८ सय १ मात्र प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो । त्यस्तै माघसम्ममा कुल जनसङ्ख्याको ६ दशमलव २९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
यस्तै सात महिनासम्ममा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या १ करोड २५ लाख २४ हजार १ सय २१ पुगेको छ । सोही अवधिमा क्रेडिट कार्ड र प्रिपेइड कार्ड प्रयोगकर्ता क्रमशः २ लाख ८२ हजार ९ सय ४५ र १ लाख ५९ हजार ९२ पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघसम्ममा ५४ वटा बैंकिङ संस्था छन् । यी संस्थाका ६ हजार ४ सय ५८ शाखा कार्यालय छन् । यस्तै ५ हजार ७८ वटा एटिएम छन् ।