काठमाडौं, १ चैत । नेपालमा पछिल्लो समय मोबाइल र इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल प्रणाली मार्फत गरिने भुक्तानी बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनामा डिजिटल प्रणालीमार्फत ४३ खर्ब २६ अर्ब २० करोड २ लाख रुपैयाँ को भुक्तानी भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ७८ प्रतिशतले बढी हो । गत आवको माघसम्ममा डिजिटल प्रणालीमार्फत ३४ खर्ब ९५ अर्ब ५ करोड ४ लाख रुपैयाँ मात्र भुक्तानी भएको थियो ।
राष्ट्र बैंकका अनुसार माघसम्ममा १२ वटा भुक्तानी प्रणाली (पेमेन्ट सिस्टम) छन् । यी मध्ये सबैभन्दा धेरै रियल टायम ग्रस सेटलमेन्ट (आरटिजिएस) मार्फत भुक्तानी भएको छ । राष्ट्र बैंकको अनुसार माघसम्ममा आरटिजिएसमार्फत २८ खर्ब २२ अर्ब ८६ करोड १ लाख रुपैयाँको भुक्तानी भएको छ, जुन गत आवको माघसम्मको तुलनामा २३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आरटिजिएसमार्फत २२ खर्ब ९५ अर्ब ८० करोड ४ लाख रुपैयाँको भुक्तनी भएको थियो ।
आरटिजिएस पछि भुक्तानी हुने मध्ये दोस्रोमा रहेको ईलेक्ट्रोनिक चेक क्लियरिंग (इसीसी) मार्फत सात महिनामा ४ ७९ अर्ब २९ करोड १ लाख रुपैयाँको भुक्तानी भएको छ, जुन गत आवको माघसम्मको तुलनामा ४ दशमलव २० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इ.सी.सी मार्फत ४ खर्ब ७४ अर्ब ६२ करोड ५ लाख रुपैयाँको भुक्तानी भएको थियो ।
यस्तै कनेक्टआइपिएस मार्फत गत आवको माघसम्ममा ३ खर्ब २८ अर्ब ३ करोड ४ लाख भुक्तानी भएको थियो । सोही माध्यममार्फत चालू आवको माघसम्ममा ४ खर्ब ५२ अर्ब ७१ करोड ८ लाख रुपैयाँको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ । अर्थात कनेक्टआइपिएस मार्फतको भुक्तानी एक वर्ष अवधिमा ३८ प्रतिशतले बढेको छ ।
चालु आवको माघसम्ममा मोबाइल बैंकिङमार्फत २ खर्ब ८९ अर्ब ३८ करोड ७ लाख रुपैयाँको भुक्तानी भएको छ । त्यस्तै अन्तरबैंक भुक्तानी प्रणाली (आइपिएस) बाट १ खर्ब ९८ अर्ब ५४ करोड ६ लाख, क्युआरबाट ३७ अर्ब ७३ करोड ४ लाख, वालेटबाट २३ अर्ब ८७ करोड २ लाख, क्युआर बाट ३७ अर्ब ७३ करोड४ लाख, इन्टरनेट बैंकिङबाट १३ अर्ब ७८ करोड ७ लाख, पिओएसमार्फत ४ अर्ब ९७ करोड ४ लाख, क्रेडिट कार्ड बाट १ अर्ब ७७ करोड ६ लाख, प्रिपेइड कार्डबाट ५९ करोड ९ लाख र इ–कमर्समार्फत ६५ करोड ६ लाख रुपैयाँको भुक्तानी भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।