काठमाडौं, २ चैत । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीकोे बिहिबार बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा आह्वान गरेको हो ।
सभामा चुक्तापूँजी २ अर्बको २५ प्रतिशत बराबरको ५० करोड रुपैयाँको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल, चालु आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ भने चैत २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।
उक्त सभा आगामी चैत २३ गते काठमाण्डौ,कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजे आयोजना हुनेछ ।