काठमाडौं, २ चैत । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा छलफल गर्न शुक्रबार (आज) साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन शुक्रबार बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
आयोगले ६० किलो सुन हङकङबाट र दुबईबाट भेपमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित १५ जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफरिस गरेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।