काठमाडौं, ४ चेत । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले उम्मेदवारी घोषणा गरेका हुन् ।
लिम्बु उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार हुन् । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम(२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख(दुःखमा सँगै उभिने वाचा गर्दछु ।’ इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल गरेका छन् ।