कठमाडौं, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन् । शुक्रबार पाण्डेले स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी भएका छन् । जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ । यस्तै दीपेन्द्र थापा उद्योग मन्त्री र जितप्रकाश आले आर्थिक मामिला मन्त्री भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे राखिएको छ ।
यसअघि भौतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए ।