काठमाडौं, ६ चैत । विभिन्न मुलुकमा नेपालको वैदेशिक व्यापार रहेता पनि नेपालले धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा नेपालले १ सय ३० मुलुकसँग व्यापार घाटा बेहोरेको छ । हाल नेपालले १ सय ५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्दा २८ मुलुकसँग व्यापार बचतमा छ ।
चालू आवको फागुनसम्ममा व्यापारिक मुलुकमध्ये नेपालले सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसँग बेहोरेको छ । विभागका अनुसार भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरै रहेको छ । सोही अवधिमा भारतबाट ६ खर्ब ३८ अर्ब १७ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा ६८ अर्ब ५१ करोड २७ लाखको निर्यात भएको छ ।
भारतपछि नेपालले व्यापार घाटा चीनसँग बेहोरेको छ । आठ महिनामा नेपालले चीनसँग १ खर्ब ९२ अर्ब ९२ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । फागुनसम्ममा नेपालले चीनबाट १ खर्ब ९४ अर्ब ८७ करोड ४४ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालले चीनतर्फ १ अर्ब ९५ करोड १ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ ।
यस्तै तेस्रो प्रमुख व्यापारिक मुलुक संयुक्त अरब इमिरेटस (युएयी) सँग १८ अर्ब ५ करोड ५५ लाख रुपैयाँ व्याापार घाटा छ । फागुनसम्ममा युएयीबाट १९ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ अर्ब ७५ करोड ८६ लाख २ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
यस्तै युक्रेनसँग १४ अर्ब ३६ करोड ८६ लाख रुपैयाँभन्दा धेरै, मलेशियासँग १२ अर्ब ३३ करोड ७१ लाख, अस्ट्रेलियासँग ८ अर्ब २७ करोड ९५ लाख, फ्रान्ससँग ८ अर्ब १८ करोड ७२ लाख, इन्डोनेशियासँग ८ अर्ब ४ करोड ५४ लाख, अर्जेन्टिनासँग ७ अर्ब ५७ अर्ब ९७ लाख रुपैयाँ भन्दा धेरै व्यापार घाटामा छ ।
विभागका अनुसार चालू आवको फागुनसम्ममा सबैभन्दा बढी डेनमार्कसँग ३० करोड ६१ लाख ८७ हजार व्यापार बचतमा छ ।
यस्तै सोही अवधिमा नर्भेसँग ९ करोड ३६ लाख २५ हजार, अफगानस्तानसँग ७ करोड ४६ लाख ६९ हजार, सुडानसँग ३ करोड ४३ लाख १९ हजार रुपैयाँ व्यापार बचतमा छ ।