काठमाडौं, ७ चैत । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आफ्ना कुरा राख्न कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेलाई समय दिएका थिए । सो समयमा न्यौपानेले गृहमन्त्री लामिछानेले गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताएकी थिइन् । उनले प्रश्न गरिन्, ‘हामीलाई च्यालेन्ज गर्नुभयो सरकारका गृहमन्त्रीले । चार वर्ष सदन अवरुद्ध गरोस् हामी सत्ता हाकिरहन्छौं भन्नुभयो,’ कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्द गर्दा सत्ता चल्छ ? त्यो कदापि हुन सक्दैन ।’
मंगलबारको प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दैे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार वर्ष सदन अवरुद्ध गरे पनि सत्ता हाँकिरहने बताएका थिए । उनले भनेका थिए, ‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति (संसदीय छानबिन समिति) नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु ।’
आफू कामले जवाफ दिने पक्षमा रहेको भनी उनले कांग्रेसलाई नैतिकताको कुरा नसिकाउन चेतावनी दिंदै उनले भनेका थिए, ‘म भन्छु– नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् । अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् ।’.. अनुसन्धान गर्दागर्दैमा मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् ।’
चार वर्ष आफूहरुले काम गर्दा अहिलेका धेरै मान्छे सदनमा नहुन सक्ने पनि उनको भनाइ थियो । ‘चार वर्ष यसैगरी अवरूद्ध भइरहृयो र सरकारले मजाले काम गर्न पायो भने के थाहा, धेरै मानिस सदनमा हुँदै हुने छैनन् कि !’
सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको भनी कांग्रेसले गत फागुन २४ गतेदेखि संसदमा निरन्तर उठाउँदै आएको छ । यस सम्बन्धमा विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको कांग्रेसले मंगलबारबादेखि संसदीय छानबिन समितिको माग गर्न थालेको छ ।