काठमाडौं, ८ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ ।
समूह एच अन्तर्गतको उक्त खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२ः४५) बजे सुरु हुनेछ ।
आज हुने खेल नेपालको होम म्याच रुपमा हुनेछ भने बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ ।
समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो । पहिलो खेल युएईसँग अवे मैदानमा ४–० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २–० ले पराजित भएको थियो ।
बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २–० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २–० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।
फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२ औं स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ ।