काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले चैत्र ८ गते बिहिबार अर्थात् आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बजारमा अधिक तरलता भएकाले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम खिच्न लागेको जनाएको छ ।
इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बिहिबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिनु पर्ने बैंकले जनाएको छ । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ भने बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
स्थायी निक्षेप सुविधा मार्फत निक्षेप लिंदा पनि तरलता अधिक नै भएपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।