काठमाडौं, ८ चैत । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ’एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच सम्झौता भएको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिने छ ।
अन्तर्राष्ट्रिय बजारमा अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपीआई इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडी बढ्न सक्ने छन् ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले उक्त पत्रमा हस्ताक्षर गरे पश्चात् वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताए ।