काठमाडौं, ८ चैत । सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । बिहीबार सूर्य दर्शन बचत पीडित संघर्ष समितिले उक्त संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था गरिदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा समक्ष निवेदन दिएका हुन् ।
उक्त सहकारीले १८ हजार ७ सय बचतकर्ताको लगभग १ अर्ब ४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरूले निवेदनमा उल्लेख गरेका छन् ।
यस्तै उनिहरुले सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै आफूहरूले न्याय पाउनुपर्ने बताएका छन् ।
रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न समेत माग गरेका छन् ।
पीडितहरूको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्यले पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताए। सरकारले पीडितको पक्षमा न्याय गर्ने खतिवडाले विश्वास दिलाएका छन् ।