काठमाडौं, ८ चैत । बैंकको सञ्चालकमा ७० वर्षे उमेर हद राख्ने प्रस्ताव अघि बढेको छ । बिहिबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा दर्ता गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो । सञ्चालकको मनोनीत वा निर्वाचित उमेर किटान गर्न आवश्यक भएकाले उक्त विधेयक ल्याइएको हो ।
प्रचलित ऐनमा बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान छ । न्यूनतम उमेर हद रहेता पनि अधिकतम उमेर हदको विषय प्रचलित ऐनमा छैन ।
‘प्रचलित ऐनको दफा १८ को उपदफा १ मा यस सम्बन्धी व्यवस्था राख्न प्रस्ताव गरिएको छ । जहाँ ‘२५ वर्ष पूरा नभएको र ७० वर्ष उमेर नाघेको’ व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुने भनिएको छ प्रस्तावित विधेयक जस्ताको तस्तै संसदबाट पारित भए ७० वर्ष नाघेका व्यक्ति बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन अयोग्य हुनेछन् ।