काठमाडौं, ९ चैत । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन् ।
शुक्रवारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताए । यस्तै उनले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व अपरिहार्य रहेको समेत बताएका छन् ।
सम्मेलनमा उनले न्यायका क्षेत्रमा महिला सहभागिता विस्तारै वृद्धि हुँदै गएको र कानुन पढ्ने महिला विद्यार्थीको सङ्ख्या पनि बढ्दो भन्दै संविधानले समानुपातिक सहभागिताको व्यवस्था गरेको र विस्तारै महिला न्यायाधीशको सङ्ख्या पनि बढ्दै जाने बताए ।
न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभइ मानवअधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धता रहेको उनको भनाइ छ । उनले भने, ‘न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र होइन, यो मानवअधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धता हो ।’ प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति आफैँमा लैङ्गिक मान्यताप्रतिको परम्परागत सोच तथा लैङ्गिक मनोवृत्तिविरुद्धको बलियो प्रमाण भएको बताए ।
न्याय क्षेत्रमा महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी पारदर्शीता र न्यायिक सदाचारको प्रवपर्द्धनमा समेत योगदान पुग्ने उनको भनाइ छ ।