काठमाडौं, ९ चैत । नेपाल चेम्बर अफ कमर्सले सातै वटै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।
शुक्रबार चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले उद्योगमन्त्री भण्डारीसँग भेट्दै निर्यात गृहको अवधारणा अविलम्ब लागु गर्न आग्रह गरे ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय उत्पादनहरुको एकीकृत प्रवर्द्धन, बजारीकरण एवम् गुणस्तर मापन पछि एकद्वार प्रणाली मार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ ।’
यस्तै चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै चेम्बरले संसदमा विचाराधिन आर्थिक विधेयकहरुलाई तत्काल पारित गर्न भूमिका खेल्न समेत आग्रह गरेको छ ।
यस्तै सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरू बाधक रहेकाले समयमै समस्या हल गर्न, वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधानहरु सुधार गर्न चेम्बरले आग्रह गरेको छ ।
साथै स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवम् वनजन्य उद्योगहरुमा आवश्यक कानुन बनाई निर्यात प्रवर्द्धन गरिनुपर्ने चेम्बरले जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
।