राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको उल्लेख गर्दै त्यसको महत्व स्थापित गर्न लागिपर्ने बताए ।
यस्तै तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको भन्दै स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उनको भनाई छ । प्रदेश र स्थानीय तहका समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालले बताए ।
यस्तै उनले हरेक महिनाको अन्तिम साता सात वटै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको जानकारी दिएका छन् ।
प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।’
विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको र ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको उनले बताए । राष्ट्रियसभामा अधिकांश विधेयक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले भने, ‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ ।’