काठमाडौं, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् ।
सोमबार नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँगको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ’नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआईआईबीसँग यस्तो व्यवस्था छैन, बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’
यस्तै उनले नेपालमा हाल एआईआईबीकाको लगानी ऊर्जा क्षेत्रको परियोजनामा रहेको उल्लेख गर्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा समेत लगानी गर्न आग्रह गरेका छन् ।
साथै नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरका छन् ।
भेटमा एआईआईबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरू, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागीता रहेको थियो । सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यको रूपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए ।