काठमाडौं, १२ चैत । पछिल्लो एक वर्षको अवधिमा दर्ता हुने उद्योगको सङ्ख्या ४१ प्रतिशतले बढेको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा स्वदेशी र विदेशी गरी कुल २ सय ५८ उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत आवको फागुनसम्मको उद्योग दर्ता हुने सङ्ख्याको तुलनामा ४१ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा १ सय ८३ मात्र उद्योग दर्ता भएका थिए ।
चालू आवको फागुनसम्ममा २ सय ४ वटा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा ३२ वटा ठूला उद्योग दर्ता भएका छन् भने २२ वटा मझौला प्रकारका उद्योग दर्ता भएका छन् ।
विभागका अनुसार फागुन महिनामा मात्रै स्वदेशी र विदेशी गरी २२ उद्योग दर्ता भएका छन्, जसमध्ये साना उद्योग १९ वटा रहेका छन् भने ठूला एउटा र मझौला प्रकारका उद्योग दुई वटा रहेका छन् ।
फागुनसम्ममा कुल लगानी १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । सोही अवधिमा विदेशी लगानी (प्रस्तावित) मात्रै २९ अर्ब आएको छ । यस्तै आठ महिनामा विदेशी लगानी परियोजनाहरुमा १८ हजार १ सय ५३ रोजगारी प्रस्ताव आएको छ ।
यस्तै विभागका अनुसार एक वर्ष अवधिमा ट्रेडमार्क दर्ता हुनेको सङ्ख्या दोब्बरभन्दा बढी पुगेको छ । चालू आवको आठ महिनामा ३ हजार ८ सय १३ ट्रेडमार्क दर्ता भएका छन्, जुन गत आवको फागुनसम्मको तुलनामा ११८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ हजार ७ सय ४८ ट्रेडमार्क दर्ता भएका थिए । यस्तै फागुनसम्ममा ४५ वटा ट्रेडमार्कलाई कारवाही गरिएको छ ।
विभागका अनुसार आठ महिनामा दुई वटा प्याटेन्ट र ७ वटा डिजाइन दर्ता भएका छन् ।