काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाले आगामी चैत २५ गतेदेखि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ । महानगरका अनुसार तथ्याङ्क संकलनका लागि खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षककलाई प्रशिक्षण दिइसकेको जनाएको छ ।
महानगरका अनुसार तालिमबाट प्रशिक्षक बनेका अधिकारीहरूले चैत २० गते देखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् ।
यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्न इच्छुकका लागि निवेदन दिन १६ मंसिरमा महानगरले सार्वजनिक सूचना जारी गरेको थियो । प्राप्त आवेदनबाट योग्यताका आधारमा माघ १४ गते उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन महानगरले माघ २१ र २४ गते लिएको अन्तर्वार्ताबाट १७ फागुनमा योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो, जसमध्ये २१ सुपरिवेक्षक र दुई सय नौ गणक छनोट भएका थिए ।