काठमाडौं, १३ चैत । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आगामी चैत्र १६ गतेदेखि काठमाडौंमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो–२०८० आयोजना हुने भएको छ । नर्सरी व्यवसायी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा आगामी चैत १६ देखि १९ गतेसम्म एक्स्पो हुुने जानकारी दिएको हो ।
सम्मेलनमा मेला संयोजक रामजी कुँवरले समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रुपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीका रुपमा नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्न लागिएकोे जानकारी दिए । मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी सात सय भन्दा बढि प्रजातीका बोटबिरुवाहरुको प्रदर्शनी हुने उनले बताए ।
कुँवरका अनुसार मेलामा व्यवसायीक ७४ वटा, फुड स्टल ४ , अफिसियल ७ र प्रतिष्पर्धाका ५ गरि जम्मा ९० वटा स्टल रहने छन् । मेलाको ५० हजार बढिले अवलोकन गर्ने र १ करोड भन्दा धेरै आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।