काठमाडौं, १४ चैत । अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न मन्त्रालयका सचिव, सह–सचिवहरु र विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै पुनले अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए ।
बैठकमा अर्थतन्त्र संकट वा महासंकटमा नरहेको तर अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए ।े विगतमा खर्च गर्न कसिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘खर्च गर्न टाइट गरिएका कारण राजश्व संकलन पनि खुम्चियो । अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरुले पनि खर्च बढाउँछन् ।’
पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको स्पष्ट गरे । राजश्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए । उनले भने, ‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ, राज्यले पक्रिएर थुनेर मात्र हुँदैन । प्रेरित गराएर कानून कार्यान्वयन गराऔं ।’
यस्त उनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिए ।