काठमाडौं, १४ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चक्रपथ सुधार आयोजनाबारे महानगरले राखेको बोर्ड फालेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सांघाइ कन्स्ट्रक्सन कम्पनीको आलोचना गरेका छन् ।
निर्माणको जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सांघाइ कन्स्ट्रक्सन कम्पनी(चीन) ले तोकिएको समयमा मात्र नभएर ९ वर्षमा पनि नसकेको र त्यसले महानगरमा असर गरिरहेको बालेनको आरोप छ ।
उनले आफ्नो अधिकार क्षेत्रमा नपरे पनि त्यसबाट महानगरबासी पीडित भएको र त्यसबारे जानकारी दिन आफूहरुले बोर्ड राखेको तर चिनियाँ ठेकेदारले बोर्ड फालेको आरोप लगाएका छन् ।
उनले भनेका छन्,‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुःख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् ।’
चीनले त्यसबारे नेपाल सरकारलाई कुटनीतिक नोट लेखेको उनको भनाइ छ । ‘आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनीतिक नोट लेखेछ्न्’ बालेन भन्छन् ।
आफ्नो देशमा त्यति छोटो समयमा अस्पताल बनाउने चीनले समय सकिएको ९ वर्षमा पनि काम नसक्ने आफ्नो देशको ठेकेदार कम्पनीले काम नगर्दा पनि बोर्ड लगाएको बारे कुटनीतिक नोट पठाएको बालेनको आरोप छ । उनले भनेका छन्, ‘यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस
चक्रपथ सु्धार आयोजना अन्तर्गत दोस्रो फेज(कलंकी–महाराजगञ्ज) को काम सन् २०१५ को अप्रिलमा सक्नु पर्ने थियो । सन् २०१५ मा सक्नु पर्ने काम सन् २०२४ लाग्दा समेत सकिएको छैन ।