काठमाडौं, १४ चैत । अर्थ मन्त्री वर्षमान पुनले आन्तरिक राजस्व विभाग र भन्सार विभागको नेतृत्व परिवर्तन गरेका छन् । बुधबार पुनले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी र भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरेका हुन् । तिवारी सरुवा भएर मंगलबार अर्थ मन्त्रालयमा आएका थिए ।
यस अघि आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल र भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल थिए । सरकारले भुपाल बरालको सरुवा गरेर वातावरण विभागमा पठाएको छ । त्यस्तै शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाएको छ ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका महत्वपूर्ण महाशाखामा पनि जिम्मेवारीहरु हेरफेर गरेका छन् । मन्त्री पुनले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखमा नियुक्त गरेका छन् । उनी राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए । त्यस्तै राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा धनीराम शर्मा र बजेट मशाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा नियुक्त गरेका छन् ।