काठमाडौं, १५ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना गर्न सुरु गरेको हो । खरमयुर गणना आजदेखि १० दिनसम्म हुनेछ ।
निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँट गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएका छन् ।
निकुञ्जभित्रका शुक्लाफाँट, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटालगायत क्षेत्रमा उनले ‘स्वीप’ विधिअन्तर्गत मानव साङ्लो बनाएर गणना गरिने उनले एरले बताए ।
नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले मयुर गणना हुने स्थानमा ‘टावर प्वाइन्ट’ राखेर ‘क्यामेरा, टेलिस्कोप, वाइनाकुलर’को सहायताले खरमयुरको गरेने बताए । उनले भने, ‘घाँसेमैदानमा घाँस छोटो हुने भएकाले यसबेला खरमजुर देखापर्ने गर्दछन् ।’
खरमयुरको प्रजनन समय भएकाले तिनलाई देखिने चराविज्ञ डगौराले बताए । ’खरमजुरको प्रजनन समय साँझ– बिहान भएकाले गणनाका लागि बिहान ६ बजेदेखि १० बजेर ३० मिनेट र साँझ ३ बजेदेखि ६ बजेर ३० मिनेटको समय निर्धारण गरेका छौँ ।’
खरमजुरको बासस्थान भनेकै घाँसेमैदान हो । अतिक्रमणको चपेटमा परेर मासिँदै जानु, प्रतिवर्ष हुने आगलागीले खरमजुरको बासस्थान मासिँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले गणनाका क्रममा बासस्थानको अवस्था, आहाराको अवस्थालगायतबारे अध्ययनको गरिने बताए ।
खरमजुर शुक्लाफाँटा, चितवन, बर्दिया राष्ट्रिय निकुञ्जसँगै कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् । नेपालका यी संरक्षित क्षेत्रमा ६० देखि एक सयको सङख्यामा खरमयुर रहेका अनुमान छ । संरक्षण अधिकृत ऐरका अनुसार गत वर्षको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटामात्रै खरमजुर फेला परेका थिए । त्यसको अघिल्लो वर्ष सात वटा फेला परेका थिए ।
खरमयुर सिरु जातको खरले ढाकिएका मैदानमा बस्ने, त्यही गुँड लगाएर चल्ला हुर्काउने गर्छन् । खरमा बस्ने भएकाले यो प्रजातिका मयुरलाई खरमयुर भनिएको उनले बताए । खरमजुरसँगै निकुञ्जमा चार सय ५४ प्रजातिका चरा पाइन्छन् । खरमयुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रुपमा सूचीकृत गरेको छ ।