कठमाडौं, १६ चैत । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरू पनि ‘सोकेस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन भन्दा बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अन्तक्रियामा पुनले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए ।
सो क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह समेत गरेका छन् । अन्तरक्रियामा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे छलफल भएको थियो ।
छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाबारे जानकारी गराएका थिए । जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनिहरुको भनाई थियो । उनीहरूले प्रदेशस्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने बताए ।
अन्तरक्रियामा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेश प्रदेशका मुख्यमन्त्री यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुस्कर, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत सहभागी थिए ।
अर्थमन्त्री पुनले लगानीको वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए । उनले भने ‘गैरआवासीय नेपालीहरूलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौँ ।’