काठमाडौं, १८ चैत । पछिल्लो एक वर्ष अवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा बीमा (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४३ दशमलव १६ प्रतिशत रहेको छ, जुन गत आवको फागुनसम्ममा बीमाको दायरामा आउने जनसङ्ख्याको तुलनामा १ दशमलव ३४ प्रतिशत विन्दुले कम हो । गत आवको सोही अवधिमा ४४ दशमलव ०५ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो ।
यस्तै एक वर्ष अवधिमा बीमाको कार्यालय सङ्ख्या पनि ८ दशमलव ८० प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी २ हजार ९ सय ३२ वटा कार्यालय छन्, तर गत आवको सो अवधिमा ३ हजार २ सय १५ बीमाको कार्यालय थिए । जीवन बीमाको कार्यालय घट्दा समग्रमा बीमाको कार्यालय घटेको देखिएको हो । आठ महिनामा जीवन बीमाको कार्यालय सङ्ख्या १६ दशमलव ५५ प्रतिशतले घटेको छ । गत आवको फगुनसम्ममा २ हजार २ सय ५ वटा रहको जीवन बीमाको कार्यालय चालू आवको फगुनसम्म आइपुग्दा १ हजार ८ सय ४१ म खुम्चिएको छ । फागुनसम्ममा निर्जीवन बीमाको कार्यालय भने १ दशमलव १३ प्रतिशतले वृद्धि भई १ हजार ९१ पुगेको छ । गत आवको सो अवधिमा निर्जीवन बीमाको कार्यालय १ हजार ९ मात्र थियो । यी कार्यालयमा ११ हजार ५ सय ५५ कर्मचारी आवद्ध छन् ।
प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी कुल १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँको बीमाको व्यवसाय भएको छ, जसमध्ये जीवन बीमाबाट ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ र निर्जीवन बीमाबाट २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ शुल्क संकलन भएको छ ।
फागुनसम्ममा जीवन बीमालेख (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) को सङ्ख्या १ करोड ३८ लाख ७ हजारभन्दा धेरै रहेको छ । सोही अवधिसम्ममा निर्जीवन बीमालेखको सङ्ख्या १९ लाख ५९ हजारभन्दा धेरै छ ।