काठमाडौं, १८ चैत । कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।
मुख्यमन्त्री जम्कट्टेलले भोली (१९ चैत) मा प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यतालिका छ । २३ फागुनमा विश्वासको मत फिर्ता लिएको थियो । कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले २२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
प्रदेश सभामा ३७ सांसद रहेको कांग्रेस केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको छ भने एमाले सरकारमा प्रवेश गरेको छ ।
एक सय १० सांसद रहेको प्रदेश सभामा जम्कट्टेललाई ५६ सांसदको समर्थन आवश्यक छ । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद जम्कट्टेलको पक्षमा देखिएका छन् ।