काठमाडौं, १९ चैत । बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको एकीकृत समाजवादीले अन्ततः मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमतीमा विश्वासको मत दिने भएको हो ।
एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमती प्रदेशमा विश्वासको मत दिन लागेको बताए ।
गठबन्धन दल एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताको बैठकले तत्काल बागमतीमा विश्वासको मत दिएर जाने सहमति भएको खनालले बताए ।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।