काठमाडौं, २० चैत । हिमालयन बैंकले संस्थापक सेयरधनी स्वामित्वको १३ लाख २७ हजार ८६७ कित्ता सेयर आजदेखि बिक्री खुलाएको छ ।
मंगलबार बैंकले एक सूचना निकाल्दै बैंकका ८ संस्थापकले उल्लिखित सेयर बेच्न निवेदन दिएकाले बिक्री खुलाएको जनाएको छ । सेयर खरिदमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक जोकोहीले चैत २० देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा खरिद परिणाम खुलाएर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । साथै बैंकले संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्यसम्बन्धी जानकारी केन्द्रीय कार्यालयबाटै लिनुपर्ने बताएको छ । यदि तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरे सर्वसाधारणलाई बिक्री खुलाइने बैंकले जनाएको छ ।