काठमाडौं, २० चैत । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन् । कर्णाली प्रदेश सभाको बैठक मंगलबार (आज) दिउँसो तीन बजे बस्दैछ ।
माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले भने, ‘केन्द्रको निर्देशन ढिला गरी आयो, प्रक्रिया अघि बढिसकेको हुनाले रोक्न नसकिने भनेर हामीले जानकारी गराइसकेका छौं । अहिलेसम्मको परिस्थतिअनुसार विश्वासको मत लिने भन्ने नै छ ।’
सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।
तर उक्त समभदारी विपरित चैत १८ गते नै संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकिएकाले हुनाले शर्माले आज विश्वासको मत लिदै छन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।