काठमाडौं, २३ चैत । चालू आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह साढे ९ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८÷०८१ को आठ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि हो । गत आवको फागुनसम्ममा ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो ।
यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
फागुनसम्म्मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) २ लाख ८६ हजार ९ सय ३२ जनाले लिएका छन् भने पुनः श्रम स्वीकृति १ लाख ८४ हजार २ सय ७८ जनाले लिएका छन् ।
आठ महिनामा खुद ट्रान्सफर १ दशमलव ९ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।