काठमाडौं, २३ चैत । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।
बिहीबार सत्तासाझेदार दलहरूबीच देउखुरीमा बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेस गरेका हुन् ।
केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका थिए । प्रदेश प्रमुख शेरचनले आज शुक्रबार सम्ममका लागि तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।