काठमाडौं, २३ चैत । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ । केही स्थानिय तहले महसुल बुझाए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो ।
प्राधिकरणले यसबाट सर्वसाधारणमा पर्ने असरप्रतिे क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गर्दै महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।
प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म विभिन्न स्थानीय तहमा विद्युत् महसुल बक्यौता ६ अर्ब रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढी काठमाडौं उपत्यकाको साढे १ अर्ब रुपैयाँभन्दा धेरे छ ।