काठमाडौं, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । अधिकारीलाई नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालको समेत समर्थन छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।
अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।