काठमाडौं, २५ चैत । गण्डकीमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । नेपाली कांग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुखलाई समेत गणना गरेर नेकपा एमाले र माओवादी केन्द्रले बहुमत पु¥याएपछि संविधान विरोधी क्रियाकलाप भएकाले आफूहरू न्याय खोज्न अदालत जाने बताए ।
एमाले दल नेता खगराज अधिकारी आइतबार मुख्यमन्त्री नियुक्त भएका छन् । उनले संविधानको धारा १६८ (२)अनुसार एमालेका २२, माओवादीका सभामुखसहित आठ र एक जना स्वतन्त्र सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेसले मुख्यमन्त्री नियुक्ति खारेज गर्न र ठूलो दलको नेताको हैसियतले नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्च जाने भएको छ ।
सभामुख र उपसभामुखलाई राजीनामा गराएर गएको भए कुनै समस्या नरहेको तर सभामुख बहाल रहेकै अवस्थामा उनलाई पनि दलको सदस्य मान्नु गलत भएको न्यौपानेको भनाइ छ ।