काठमाडौं, २५ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरअघि नै गर्न सकिने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताए ।
मंसिरमा उक्त उपनिर्वाचन गर्ने प्रस्ताव यसअघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने लामिछानेले बताए । संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताए ।