काठमाडौं, २६ चैत । इसराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ । अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इसराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इसराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिएको छ । इसराइली रक्षामन्त्री योअव गालान्टले दक्षिणी गजा क्षेत्रमा थलसेना घटाइएपनि सैनिक निगरानी कायम रहेको बताएका छन् । उनले भविष्यमा हमासविरूद्ध गरिने थप कारबाहीको तयारी गर्न सैनिकहरूलाई बोलाइएको स्पष्ट पारे ।
इसराइलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्धको आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपु¥याउन र मानवीय सहायताका कार्यहरूलाई सुरक्षित गर्न चेतावनी दिएको थियो ।
दुई साताअघि गजामा मानवीय सहायता लिएर पुगेको वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसिके)का ७ जना स्वयंसेवकहरू इसराइली हवाई आक्रमणमा मारिएका थिए । त्यसपश्चात अमेरिका, बेलायत लगायतका शक्ति राष्ट्रहरूले इसराइलको उक्त कदमको भर्त्सना गरेका थिए। इसराइलले भने भूलवश मानवीय सहायताकर्मीहरू मारिएको भनेर टारेको थियो ।
उक्त घटनापछि गजामा मानवीय सहायताकर्मीहरू सुरक्षित हुने अवस्था सुनिश्चित गर्न भन्दै अमेरिकाले इसराइल नीतिमा नै विचार गर्ने चेतावनी दिएको एक सातामा इसराइलले गजामा सैनिक संख्या घटाएको हो । गजामा इसराइलको आक्रमणबाट अहिलेसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।